वि.सं. २०७३ सालमा स्थापना भएको यस माथागढी गाउँपालिकाको नामाकरण पाल्पा जिल्लाको साविकको गोठादी गा.वि.स.को दक्षिणमा पर्ने समुद्री सतहदेखि करिव ५००० फिट उचाईमा पहाडी टापुमा अवस्थित माथागढीको नामबाट भएको हो । साविकका चिदीपानी, कसेनी, रूप्से, झडेवा, गोठादी, रहबास, र बहादुरपुर गरी ७ ओटा गाविस मिलि बनेको यस गाउँपालिकाको क्षेत्रफल २१५.४९ वर्ग किलोमिटर रहेको छ । राजनीतिक तथा प्रशासनिक दृष्टिकोणले ८ वडामा विभाजन गरिएको यस गाउँपालिकाको उत्तरमा पूर्वखोला गाउँपालिका, रम्भा गाउँपालिका र बगनास गाउँपालिका, दक्षिणमा रूपन्देही र नवलपरासी जिल्ला, पश्चिममा तिनाऊ गाउँपालिका र तानसेन नगरपालिका र पूर्वमा पूर्वखोला गाउँपालिका र निस्दी गाउँपालिका अवस्थित छन् । वि.स. २०६८ सालको जनगणना अनुसार मिहला-१३,९०१ र पुरूष-११११६ गरी जम्मा -२५०१७ जनसंख्या रहेको छ । जसमध्ये जातिगत विवरणको आधारमा मगर-१८,५५२, ब्राहमण-१,६७०, कामी- १,६५४, क्षेत्री-७३०, कुमाल-६९७, सार्की -५०२, दमाई-३६५, नेवार-१६९, घर्ती / भुजेल-१३०, मुस्लिम-१८, वादी १९, दसनामी- ५७ र अन्य-१७० रहेका छन् । यस गाउँपालिकाका अधिकाशं मानिसहरू कृषि पेसामा संलग्न छन् भने कतिपय सरकारी सेवा, व्यापार र वैदेशिक रोजगारमा समेत संलग्न रहेका छन् । माडीफाँट, झडेवा फाँट र मटेरी फाँट धान उत्पादनका लागि उपयुक्त ठाउँ हो भने बहादुरपूर, रहवास, हात्तिलुङ्ग र गोठादी लगायतका वडामा व्यावसायिक बाख्रा पालनका लागि उपयुक्त रहेका छन् ।
मगाराती पृष्ठभूमि बोकेको गाउँपालिकालाई इतिहास, कला, सँस्कृति र सभ्यतामा समेत धनि रहेको छ । यस गाउँपालिकाको भौतिक पूर्वाधार तर्फ पक्की सडक २५ कि.मी. ग्राभेल 38 कि.मी. र कच्ची १३१ कि.मी. सडक रहेको छ । शिक्षातर्फ स्नातक क्याम्पस-१,मा.वि. १२ ,आधार भूत विद्यालय ५ , प्रा.वि २८ ,वालविकास केन्द्र ३९, सिकाइ केन्द्र ३ वटा रहेका छन् । त्यस्तै गरी कृषि सेवा केन्द्र ३, पशु सेवा केन्द्र २, स्वास्थ्य चौकी ७ र आयुर्वेद औषधालय १- ओटा रहेका छन् ।