वि.सं. २०७३ सालमा स्थापना भएको यस माथागढी गाउँपालिकाको नामाकरण पाल्पा जिल्लाको साविकको गोठादी गा.वि.स.को दक्षिणमा पर्ने समुद्री सतहदेखि करिव ५००० फिट उचाईमा पहाडी टापुमा अवस्थित माथागढीको नामबाट भएको हो । साविकका चिदीपानी, कसेनी, रूप्से, झडेवा, गोठादी, रहबास, र बहादुरपुर गरी ७ ओटा गाविस मिली बनेको यस गाउँपालिकाको क्षेत्रफल २१५.४९ वर्ग किलोमिटर रहेको छ । राजनीतिक तथा प्रशासनिक दृष्टिकोणले ८ वडामा विभाजन गरिएको यस गाउँपालिकाको उत्तरमा रम्भा गाउँपालिका र बगनासकाली गाउँपालिका, दक्षिणमा रूपन्देही जिल्लाको देवदह नगरपालिका र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाको सुनवल नगरपालिका, पश्चिममा तिनाऊ गाउँपालिका र तानसेन नगरपालिका र पूर्वमा पूर्वखोला गाउँपालिका , निस्दी गाउँपालिका र गण्डकी प्रदेश नवलपुर जिल्लाको विनय त्रिवेणी गाउँपालिका अवस्थित छन् । वि.स. २०७८ सालको जनगणना अनुसार महिला- १२८६९ र पुरूष- १११८४ गरी जम्मा - २४०५३ जनसंख्या रहेको छ । जसमध्ये जातिगत विवरणको आधारमा क्षेत्री- ६१३, ब्राहमण(पहाडी)- १२६९, मगर- १८४५३, थारु- २६,नेवार- १७७, विश्वकर्मा-१६०६, मुस्लिम- २१, गुरुङ- १७ , परियार - ३२३,ठकुरी- १४,मिजार- ४७४, सन्यासी/दसनामी- २७, कुमाल- ७९४, घर्ती / भुजेल- १००, खत्वे- १८ , सुनुवार- ४६, विदेशी- २१ र अन्य- ५४ रहेका छन् । यस गाउँपालिकाका अधिकाशं मानिसहरू कृषि पेसामा संलग्न छन् भने कतिपय सरकारी सेवा, व्यापार र वैदेशिक रोजगारमा समेत संलग्न रहेका छन् । माडीफाँट, झडेवा फाँट र मटेरी फाँट धान उत्पादनका लागि उपयुक्त ठाउँ हुन् भने बहादुरपूर, रहवास, हात्तिलुङ्ग र गोठादी लगायतका वडामा व्यावसायिक बाख्रा पालनका लागि उपयुक्त रहेका छन् । मगराती पृष्ठभूमि बोकेको गाउँपालिका इतिहास, कला, सँस्कृति र सभ्यतामा समेत धनि रहेको छ । यस गाउँपालिकाको भौतिक पूर्वाधार तर्फ पक्की सडक २५ कि.मी. ग्राभेल ३८ कि.मी. र कच्ची १३१ कि.मी. सडक रहेको छ । शिक्षातर्फ स्नातक क्याम्पस-१,मा.वि. १३ आधारभूत विद्यालय ६ ,प्रा .वि २१ , वालविकास केन्द्र ४१, सामुदायिक सिकाइ केन्द्र ३ वटा रहेका छन् । त्यस्तै गरी स्वास्थ्य चौकी ७, आयुर्वेद औषधालय १, बर्थिङ्ग सेन्टर ७(६ वटा संचालनमा), जनस्वास्थ्य प्रयोगशाला (ल्याव) ७ र सामूदायिक स्वास्थय इकाई ७ वटा रहेका छन् ।