वि.सं. २०७३ सालमा स्थापना भएको यस माथागढी गाउँपालिकाको नामाकरण पाल्पा जिल्लाको साविकको गोठादी गा.वि.स. को दक्षिणमा पर्ने समुद्री सतहदेखि करिव ५००० फिट उचाईमा पहाडी टापुमा अवस्थित माथागढीको नामबाट भएको हो । साविकका चिदीपानी, कसेनी, रूप्से, झडेवा, गोठादी, रहबास र बहादुरपुर गरी ७ ओटा गाविस मिली बनेको यस गाउँपालिकाको क्षेत्रफल २१५.४९ वर्ग किलोमिटर रहेको छ । राजनीतिक तथा प्रशासनिक दृष्टिकोणले ८ वडामा विभाजन गरिएको यस गाउँपालिकाको उत्तरमा रम्भा गाउँपालिका र बगनासकाली गाउँपालिका, दक्षिणमा रूपन्देही जिल्लाको देवदह नगरपालिका र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाको सुनवल नगरपालिका, पश्चिममा तिनाऊ गाउँपालिका र तानसेन नगरपालिका र पूर्वमा पूर्वखोला गाउँपालिका, निस्दी गाउँपालिका र गण्डकी प्रदेश नवलपुर जिल्लाको विनय त्रिवेणी गाउँपालिका अवस्थित छन् । वि.स. २०७८ सालको जनगणना अनुसार महिला- १२८६९ र पुरुष १११८४ गरी जम्मा-२४०५३ जनसंख्या रहेको छ । जसमध्ये जातिगत विवरणको आधारमा क्षेत्री- ६१३, ब्राहमण (पहाडी) -१२६९, मगर - १८४५३, थारु- २६, नेवार- १७७, विश्वकर्मा १६०६, मुस्लिम-२१, गुरुङ-१७, परियार-३२३, ठकुरी - १४, मिजार-४७४, सन्यासी/ दसनामी- २७, कुमाल-७९४, घर्ती/भुजेल-१००, खत्वे- १८, सुनुवार- ४६, विदेशी - २१ र अन्य ५४ रहेका छन् । यस गाउँपालिकाका अधिकांश मानिसहरू कृषि पेसामा संलग्न छन् भने कतिपय सरकारी सेवा, व्यापार र वैदेशिक रोजगारमा समेत संलग्न रहेका छन् । माडीफाँट, झडेवा फाँट र मटेरी फाँट धान उत्पादनका लागि उपयुक्त ठाउँ हुन् भने बहादुरपूर, रहवास, हात्तिलुङ्ग र गोठादी लगायतका वडामा व्यावसायिक बाख्रा पालनका लागि उपयुक्त रहेका छन् । मगराती पृष्ठभूमि बोकेको गाउँपालिका इतिहास, कला, सँस्कृति र सभ्यतामा समेत धनि रहेको छ । यस गाउँपालिकाको भौतिक पूर्वाधार तर्फ पक्की सडक २५ कि.मी. ग्राभेल ३८ कि.मी. र कच्ची १३१ कि.मी. सडक रहेको छ । शिक्षातर्फ स्नातक क्याम्पस-१,मा. वि. १०, आधारभूत विद्यालय ५, प्रा.वि. २४, वालविकास केन्द्र ३९, सामुदायिक सिकाइ केन्द्र ३ वटा रहेका छन् । त्यस्तै गरी स्वास्थ्य चौकी ७, आयुर्वेद औषधालय १, बर्थिङ्ग सेन्टर ७ (६ वटा संचालनमा), जनस्वास्थ्य प्रयोगशाला (ल्याव) ७ र सामूदायिक स्वास्थ्य इकाई ७ वटा रहेका छन् ।